वासिङटन, (एजेन्सी)
सिरियामा विशेष अमेरिकी बलको कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिएको र त्यसले जिहादीहरूको अभियानलाई ठूलो धक्का पुगेको अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले बताएको छ।
अमेरिकी कमान्डो कारबाहीमा जिहादी नेता अबु सयाफ मारिएको उनले जानकारी दिए। उनीले पूर्वी सिरियामा इस्लामिक स्टेटको तेल कारोबारको जिम्मेवारी लिएर बसेका थिए।
अमेरिकी कारबाहीका क्रममा सयाफकी पत्नीलाई पनि हिरासतमा लिइएको थियो। उनी पनि आईएसको गतिविधिहरूमा सक्रिय रहने गरेको जनाइएको छ।
एक जना यजिदी महिलालाई दाससमेत बनाएकी सयाफकी पत्नीलाई पछि अमेरिकी सेनाले रिहा गरेका थिए।
अमेरिकी बलले आईएसविरुद्ध सिरियामा स्थल कारबाही गरेको यो पहिलो घटना हो। यो अभियानको अनुमति अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिएका हुन् र यसमा इराकमा तैनाथ अमेरिकी कमान्डो परिचालन गरिएको थियो।
उक्त कमान्डो टोली हेलिकोप्टरबाट सिरिया पुगेका हुन्। गत वर्षदेखि इस्लामिक स्टेटले सिरिया र इराकको ठूलो हिस्सामा नियन्त्रण गरेको छ। तेलको कारोबार उक्त समूहको आम्दानीको प्रमुख स्रोत रहेको छ। शनिबार आईएसले सिरियाको एउटा प्राचीन शहर पल्मियरामाथि नियन्त्रण गरेको थियो।